गण्डकी, पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ ।महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । महानगर क्षेत्रमा करिब छ हजार हेक्टरमा मकैखेती हुने गरेको उहाँले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































