काठमाडौँ, सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गर्नुभएको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ ।चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात् समय गणना सुरु भएको विषय ‘ब्रह्मपुराण’मा उल्लेख भए अनुसार ‘कालमाधव’ नामक ग्रन्थमा भनिएको छ—
चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेऽहनि ।
शुक्लपक्षे समग्रं तु तदा सूर्योदये सति ।।
तदा प्रवर्तयामास कालस्य गणनामपि ।।
अर्थात् चैत महिनाको शुक्ल पक्षको पहिलो दिन, सूर्योदयको समयमा ब्रह्माजीले सृष्टिको निर्माण गर्नुभयो र त्यही समयदेखि कालगणनाको प्रारम्भ पनि गर्नुभयो । यसै प्रमाणका आधारमा विसं २०८० देखि नेपालमा चैत्र शुक्ल प्रतिपदाको दिनलाई ज्योतिष दिवसका रुपमा मनाउन थालिएको हो । यसवर्ष तेस्रो ज्योतिष दिवस मनाउन लागिएको छ ।
यस अवसरमा आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी ज्योतिष दिवस मनाउँदै छन् । समितिले आज दिउँसो १ बजे नारायणहिटीस्थित समितिको कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरेको कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)



























































































































































