कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ उत्तर मुढास्थित एशिया इन्टरनेसनल एकेडेमीमा वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न भएको छ।
विद्यालयकी संस्थापक विष्णा देवी कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल मोहन बहादुर कुँवर लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै वर्षभरि सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरू—हाइजम्प, लङजम्प, म्युजिकल चेयर, १०० मिटर दौड, स्पेलिङ कन्टेस्ट, हाजिरीजवाफ, चित्रकला तथा नृत्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो। त्यसैगरी पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लमजम्पतर्फ दोस्रो स्थान हासिल गर्ने विद्यार्थी आर्यन बिकलाई नगदसहित पुरस्कृत गरिएको थियो।
विद्यालयले नियमितता, सरसफाइ र अनुशासनलाई प्रोत्साहन गर्दै कक्षा २ की दीक्षा कुँवर (नियमित उपस्थित), यूकेजीकी आरोही सुनार (सरसफाइ), कक्षा १ का भूपेन्द्र भण्डारी तथा पूजा रोकाया (अनुशासित विद्यार्थी)लाई विशेष पुरस्कार प्रदान गरेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य तथा बालनृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। २०७३ सालमा स्थापना भएको उक्त विद्यालयले कमजोर विद्यार्थीहरूका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ।
हाल विद्यालयमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने १२ जना शिक्षक-शिक्षिकाले अध्यापन गराउँदै आएका छन्। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिथुन गौतमले गुणस्तरीय शिक्षा र अभिभावकको सक्रिय सहभागिताले मात्र विद्यार्थीको भविष्य उज्यालो हुने बताउनुभयो। उहाँले अभिभावकहरूले सही विद्यालय छनोट गरेको उल्लेख गर्दै छोटो समयमै विद्यालयले गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्नुभयो।
त्यसैगरी विद्यालयका प्रिन्सिपल मोहन बहादुर कुँवरले कमजोर विद्यार्थीहरूका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिएको जानकारी दिँदै गुणस्तरीय शिक्षासँगै नृत्य, हस्तकला, चित्रकला तथा अक्षर सुधार जस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले घरमा नियमित अभ्यास नगर्दा विद्यार्थी कमजोर बन्ने भन्दै अभिभावकलाई बालबालिकाको पढाइमा ध्यान दिन आग्रह गर्नुभयो।
प्रिन्सिपल कुँवरले अत्यावश्यक बाहेक अभिभावकहरूले विद्यार्थीहरूलाई मोबाइल प्रयोग गर्न नदिन सुझाव दिँदै मोबाइलको दुरुपयोगले पढाइमा नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो। साथै विद्यालय निजी लगानीमा सञ्चालन भए पनि सबैको साझा संस्था भएको भन्दै आगामी दिनमा अभिभावकहरूको निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका चाँदनी चौधरीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका विनीता महताराले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





















































































































































