काठमाडौँ, आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा विश्वभर जीवनरक्षक कार्यमा संलग्न कर्मचारीहरूको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९८५ मा अपहरणमा परेका एलेक कोलेटको स्मृतिमा हरेक वर्ष मार्च २५ मा यो दिवस मनाइन्छ । कोलेट राष्ट्रसङ्घका राहत तथा कार्य निकाय (युएनआरडब्ल्युए) सँग आबद्ध पत्रकार हुनुहुन्थ्यो । उहाँलाई सशस्त्र समूहले अपहरण गरेको थियो । उहाँको शव सन् २००९ मा लेबनानको बेक्का उपत्यकामा फेला परेको थियो ।
सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएयता यसको सेवामा खटिएका सयौँ कर्मचारीले ज्यान गुमाइसकेका छन् । विशेषगरी सन् १९९० को दशकमा शान्ति स्थापना ‘मिसन’हरूको विस्तारसँगै जोखिम बढ्दा अघिल्ला चार दशकको तुलनामा सो दशकमा धेरै कर्मचारीको ज्यान गएको थियो ।यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोखिमपूर्ण परिस्थितिमा काम गर्ने कर्मचारी तथा शान्ति सैनिकलाई आवश्यक सुरक्षा र अनुकूल कार्य वातावरण सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)



























































































































































