इनरुवा (सुनसरी), सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा हर्षोल्लासका साथ चैती छठ मनाएका छन् । इटहरी उपमहानगरपालिकाको बुढी खोलसहित इनरुवा, भोक्राहा, कोसी, हरिनगरलगायत स्थानमा चैती छठ मनाएका हुन् । नजिकको जलासय वा कृत्रिम जलासयको निर्माण गरेर मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका भक्तजन बुधबार बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापना भएका हो । छठको चौथो तथा अन्तिम दिन आज बिहान सूर्योदय हुनुअघि नै व्रतालुहरू कम्मरसम्म पानीमा डुबेर सूर्यदेवको आराधना गर्न व्यस्त रहेका थिए ।
हातमा ठेकुवा, भुसुवा, केरा र अन्य मौसमी फलफूल राखिएको बाँसको डाला र नाङ्लो बोकी सूर्यको किरण देखिने वित्तिकै दूध र जलले अघ्र्य अर्पण गरिएको थियो ।अघ्र्य दिएसँगै व्रतालुले ३६ घण्टा लामो कठिन निर्जल व्रत गरी समापन गरेका छन् । जलाशयका घाटहरूलाई झिलिमिली बत्ती र ध्वजापताकाले आकर्षक ढङ्गले सजाइएको थियो । यस पर्वमा सूर्य र उनकी बहिनी छठी माईको पूजा गर्नाले पारिवारिक सुख, समृद्धि र आरोग्य प्राप्त हुने धार्मिक मान्यता छ ।
शरद ऋतुमा मनाइने कात्तिके छठ जत्तिकै व्यापक भए पनि पछिल्ला केही वर्षयता चैती छठ मनाउने परम्परामा उल्लेख्य वृद्धि भएको स्थानीय भक्तजन सुधिर साफीले जानकारी दिनुभयो । बजार क्षेत्रमा कृत्रिम पोखरी बनाएर र जलासय भएको ठाउँ नदी, खोला र पोखरीमा चैती छठ वर्तीले उदाउँदो सूर्यलाई अघ्र्य दिएको स्थानीय नेहा मण्डलले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































