कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले कम्प्युटरमा डाटा इन्ट्री गर्दै छन् ।
उनी कहिले कागजात रुजु गर्छन् कहिले किबोर्डमा औँला चलाउँदै नागरिकताको विवरण सच्याउँछन्। हेर्दा उनी कुनै तालिमप्राप्त कर्मचारी जस्तै लाग्छन् तर उनी त्यहाँका कर्मचारी होइनन् । उनी त ४६ हजार जनताले विश्वास गरेर जिताएका वडा अध्यक्ष मोहन बिक हुन्।
सामान्यतया, हाम्रा समाजमा वडा अध्यक्ष भन्ने बित्तिकै एउटा छुट्टै रवाफ, कार्यक्रमको उद्घाटन, चिया चौताराको गफ र आसेपासेको घेरामा रहने प्रतिनिधिको चित्र आँखामा आउँछ। तर मोहन बिक यो स्थापित भाष्यलाई चुनौती दिइरहेका छन्। उनी १० बजे कार्यालय पुग्छन् र ४ बजेसम्म कर्मचारीकै शैलीमा जनताको सेवामा तल्लीन हुन्छन्।
”मलाई जनताले काम गर्न पठाएका हुन्, राजनीति गर्न मात्र होइन । जनताको सेवा मेरो पहिलो कर्तव्य हो। त्यसैले आफैँ कर्मचारी झैँ खट्छु।” कम्प्युटरको किबोर्डमा औँला चलाउँदै उनले भने ।” सेवा प्रवाहमा उनको व्यस्तता देख्दा यसो लाग्थ्यो कि उनलाई पानी पिउने समेत फुर्सद छैन ।
टीकापुर नगरपालिकाको कुल जनसङ्ख्याको करिब आधा हिस्सा (४६ हजार) यही वडा नम्बर १ मा मात्रै छ। दैनिक औसत ३ सय सेवाग्राही सेवा लिन वडा कार्यालय आउँछन्। यति ठुलो जनसङ्ख्याको सेवा प्रवाहमा कर्मचारी मात्र खट्दा ढिलासुस्ती हुने निश्चित छ। त्यही ढिलासुस्तीलाई चिर्न अध्यक्ष बिक आफैँ सहयोगी बनिदिन्छन्।
सिफारिस तयार पार्ने, कम्प्युटरमा तथ्याङ्क प्रविष्ट गर्ने र नागरिकताको अनलाइन इन्ट्री गर्ने जस्ता प्राविधिक काममा पनि उनी उत्तिकै पोख्त छन्। “मेरो पहिलो प्राथमिकता हस्ताक्षर हो। म कार्यालयमै बस्ने हुनाले सेवाग्राहीले वडा अध्यक्ष खोज्दै भौँतारिनु पर्दैन । अत्यावश्यक बाहेक म कार्यालय छोड्दिनँ।” उनले थपे ।
सिफारिस बनाउन वडा कार्यालय पुगेका एक सेवाग्राहीलाई सचिवले कामको चाप देखाउँदै केही समय पालो कुर्न आग्रह गरे। तर, ती सेवाग्राहीको हतारोलाई बुझेर होला अध्यक्ष बिकले उनलाई आफैँकहाँ बोलाए र आफ्नै हातले कम्प्युटरमा सिफारिस तयार पारिदिए। हामी सँगको संवादमा ती सेवाग्राही भने “वडा अध्यक्षको शालीनता र व्यवहार देखेर म त अचम्मै परेँ। यस्तो जनप्रतिनिधि भए जनताले कहिल्यै दुःख पाउँदैनन्।” वडा अध्यक्ष बिकको शिष्टता र असल व्यवहारले अहिले वडा मात्र होइन, सिङ्गो नगरपालिका नै उनको चर्चा हुने गरेको छ।
चिया पसलमा बसेर राजनीति छाँट्ने, कार्यकर्ता व्यवस्थापनमा बढी ध्यान दिने र अवसरको खोजीमा दौडिने जनप्रतिनिधिहरूको भिडमा मोहन बिक एउटा अपवाद बनेर उभिएका छन्। उनले देखाएको यो बाटोले पद केवल शासन गर्नका लागि मात्र नभई कार्यालयको सहज सेवा प्रवाहका लागि हो भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ ।
अध्यक्ष बिकले कम्प्युटरको स्क्रिन देखाउँदै भने,… “हामीले इन्ट्री गरेको डकुमेन्टमा आधारमा प्रशासनले अनलाइनबाट हेरेर नागरिकता प्रिन्ट गर्छ। केही कागजात फरक परे म आफैँ पनि यहीँबाट सच्याउँछु।” उनको यो सक्रियताले टीकापुर १ का जनतालाई मात्र होइन, सुशासन खोजिरहेका हरेक नागरिकलाई आशाको किरण जगाएको छ।



























































































































































