काठमाडौँ, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा जापानमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।अप्रिल २ देखि ५ तारिखसम्म जापानको टोकियो र ओसाकामा नेपाललाई वर्षेभरि घुम्न मिल्ने पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरिएको हो । पर्यटन प्रवर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पु¥याउने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
उक्त कार्यक्रममार्फत नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै जापानी बजारमा नेपालको उपस्थिति मजबुत बनाउने लक्ष्य लिइएको छ । टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै त्यहाँस्थित नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रानु शाहले नेपालको सांस्कृतिक सम्पदा, चर्चित गन्तव्य, साहसिक पर्यटन र वेलनेस अनुभवबारे प्रस्तुति दिनुभएको थियो । प्रस्तुतिमा नेपाललाई सुरक्षित, फरक पहिचान भएको र वर्षैभरि घुम्न मिल्ने गन्तव्यका रूपमा उजागर गर्नुभएको थियो ।
नेपाल वायुसेवा निगमले जापान–नेपाल उडान सञ्जालबारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै जापानको नेपालसँगको हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो । कार्यक्रममा जापानका टुर अपरेटर, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । बोर्डको उक्त पहलले नेपालको पर्यटन बजार विस्तार, अन्तरराष्ट्रिय साझेदारी सुदृढीकरण र जापानी पर्यटकका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुग्ने अपेक्षा व्यवसायीको छ ।राष्ट्रिय समाचार समिति (रासस)


























































































































































