म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका–३ बरम्जामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गर्नुभएको छ । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत, विसं २०६३ को अन्तरिम संसद् र २०६४ देखि २०७० सम्म संविधानसभा सदस्य रहनुभएका श्रीसले राजनीतिज्ञसँगै कृषक र उद्यमलाई निरन्तरता दिनुभएको हो ।
भूमिगत राजनीति र संविधानसभा सदस्यको कार्यकाल पूरा गरेपछि जन्मथलो फर्कनुभएका उहाँले श्रीस कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर बाख्रापालन र सुन्तला खेती गर्नुभएको छ । मध्यमवर्गीय पृष्ठभूमिका श्रीसले आत्मनिर्भरता र जीविकोपार्जनका लागि बाख्रापालन र सुन्तला खेती रोजेको बताउनुभयो ।
दुई वटा बाख्रा र रु एक लाख लगानीबाट सुरु भएको श्रीसको फार्ममा हाल ३० वटा बाख्रा छन् । वार्षिक १५ देखि २० वटा खसीबोका बिक्री गर्नुहुन्छ । परम्परागत खाद्यान्न खेतीको विकल्पमा उहाँले खेतबारीमा लगाएको ३५० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् ।
“नागरिकको अवस्था सुधार, आर्थिक, सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशिलतानै प्रमुख आधार हो,” उहाँले भन्नुभयो “पहाडी क्षेत्रमा आत्मनिर्भर र स्वरोजगारका लागि बाख्रापालन र सुन्तलाखेतीको सम्भावना देखाउनका लागि आफैँ अग्रसर भएको हो ।”
खरी र जमुनापारि जातका बाख्रा पाल्नुभएको छ । केही समय खाद्यान्न पसलको डिलर सञ्चालन गर्नुभएका श्रीसले सुरुआतमा ताराखोलाबाट किनेर ल्याएको हावापानी नमिलेका कारण मरेर क्षति ब्यहोर्नु परे पनि निराश नभई व्यवसायलाई निरन्तरता दिएको सुनाउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक र व्यवस्थित खोर निर्माण गर्नुभएको छ । श्रीसको अगुवाइमा नमूना कृषक समूहमार्फत बरम्जाका १५ घरपरिवार किसानले व्यावसायिक बाख्रापालन गरेका छन् । बरम्जाका किसानले बाख्रापालन र सुन्तला खेतीका अलावा गाईभैँसीपालन गरेर दूध उत्पादन गरि तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् ।
श्रीसले खाली जमिनमा बाख्रालाई आवश्यक पर्ने घाँस खेती गर्नुभएको छ । श्रीससहित बरम्जाका किसानहरूलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले सघाएका छन् ।
बिहान–बेलुकी र फुर्सदको समयमा बाख्रा तथा सुन्तलाको स्याहार सुसारमा व्यस्त हुने श्रीस स्थानीय सामाजिक गतिविधि पनि संलग्न हुनुहुन्छ । हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेका श्रीसले राजनीतिसँगै कृषि उद्यमलाई विस्तार र निरन्तरताको योजना बनाउनुभएको छ ।
माहुरीपालन सुरु गर्ने तयारीमा रहेका श्रीसलाई श्रीमती बिष्णुमती, छोरा र परिवारका सदस्यहरूले पनि साथ दिनुभएको छ । विद्यार्थीकालदेखि नै श्रीसमगर नेकपा (माओवादी) पार्टीमा आबद्ध हुनुभएको थियो । २०५८ सालदेखि उहाँ भूमिगत हुनुभएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)


























































































































































