इलाम, माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ । यसका लागि दुग्ध तथा घ्यू प्रशोधन , कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
गाउँपालिकाले कार्यक्रममार्फत मौरीपालन, अलैँचीखेती, पशुपालन, ब्युटीपार्लर तथा बिस्कुट उत्पादनजस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम रु दुई लाखसम्म अनुदान दिएको थियो । ” गाउँपालिकाका उपाध्यक्ष प्रवीना उपाध्यक्ष राईले भन्नुभयो, “व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ । हाम्रो मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो ।”
पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम दिएपछि वडा नं १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं ६ का इन्द्र थेबेको एनएस डेरी उद्योगलाई सामग्री सहयोग गरिएको थियो ।उक्त कार्यक्रमअन्तर्गत गत वर्ष कोदोको बिस्कुट उत्पादनसम्बन्धी तालिम दिइएर उत्कृष्ट छ व्यवसायलाई प्रोत्साहित गर्न नगद अनुदान दिइएको थियो । वडा नं १ की पार्वती भट्टराईले सञ्चालन गर्नुभएको भट्टराई बिस्कुट बेकरी उद्योगलाई वस्तुगत सहायता अनुदान दिइएको छ ।
त्यसैगरी वडा नं ३ का रुद्रकुमार सञ्जेलको गहिरीगाउँ जैविक कृषि फार्म, वडा नं ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्म, वडा नं ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म, वडा नं १ की कञ्चन आचार्यको कञ्चन ब्युटीपार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले सञ्चालन गर्नुभएको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको थियो ।
यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिइएका छन् । अब उक्त सीपलाई व्यावसायिक बनाउनेलाई अनुदान दिने गाउँपालिकाले जनाएको छ । कार्यक्रमले गाउँका युवालाई विदेश होइन, आफ्नै माटोमै सम्भावना खोज्न प्रेरित गरिरहेको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताउनुभयो ।बिस्कुट उत्पादनमा रु दुई लाख अनुदान पाउनुभएकी पार्वती भट्टराई थप व्यावसायिक बन्न प्रोत्साहन मिलेको बताउनुुहुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)



























































































































































