चितवन, एकतिसौँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइदै छ । यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाले विभिन्न कार्यक्रमसहित मनाइरहेका छन् ।यसै क्रममा आज सिमसार तथा नदी सरसफाइ गरिएको छ । सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । सिमसार क्षेत्र र नदी सरसफाइले वन्यजन्तुका लागि आवश्यक पानीको परिपूर्ति गर्ने भएकाले हरेक वर्ष वन्यजन्तु सप्ताहमा यो कार्यक्रम गरिँदै आएको उहाँले बताउनुभयो ।
यही वैशाख २ गते चरा अवलोकन र ३ गते प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी सरोकारवालासँग छलफल गरिएको थियो । वैशाख ५ गते शनिबार मानव वन्यजन्तु सहअस्तित्वसम्बन्धी छलफल तथा अन्तरक्रिया, ६ गते आइतबार विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा वन्यजन्तुबाट टुहुरा भएका बालबालिकालाई छात्रवृत्ति प्रदान र वैशाख ७ गते वन्यजन्तु बासस्थान व्यवस्थापनसम्बन्धी स्थलगत जागरण तथा अन्तरक्रिया गरिनेछ ।सूचना अधिकारी थापामगरका अनुसार वन्यजन्तु सप्ताहबाट वन्यजन्तु र सिमसार क्षेत्रले मानव जीवनमा पार्ने प्रभावका बारेमा ज्ञान दिँदै संरक्षण जुट्न मद्दत पुग्नेछ ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































