कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल बसोवास गर्ने ६४ वर्षीय कर्ण जित साउँद हराएका छन्।
परिवारका अनुसार राष्ट्रिय वाणिज्य बैंकको म्यानेजर बाट अवकाश प्राप्त साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन रहेको जनाइएको छ। हराएका साउँद गहुँ गोरो वर्णका, करिब ५ फिट उचाइका र ठूलो निधार भएका व्यक्ति हुन्। परिवारले विभिन्न स्थानमा खोजी गर्दा पनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाएको छ।
परिवारले साउँदको खोजीमा सहयोग गरिदिन सर्वसाधारण तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ। कसैले उनलाई देखेमा वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तुरुन्त खबर गरिदिन अनुरोध गरिएको छ।


























































































































































