धरान (सुनसरी), सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १-० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो ।
खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो ।प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले रु १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले रु पाँच लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्डरतर्फ प्लानिङ ब्वाइजका निङमा घिसिङ, उत्कृष्ट मिडफिल्डरतर्फ प्रतापसिंह राई र उत्कृष्ट प्रशिक्षकतर्फ युवा समाज गछियाका प्रशिक्षक अर्जुन बस्नेतलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी सर्वाधिक गोलकर्तातर्फ प्लानिङ ब्वाइजका फागुराम थारूलाई रु २५ हजार तथा सर्वोत्कृष्ट खेलाडीतर्फ युवा समाज गछियाका सुजन चौधरीलाई रु एक लाख नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । गत चैत ३० गतेदेखि राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहको सहभागिता थियो ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































