काभ्रेपलाञ्चोक, बनेपा नगरपालिकामा बालश्रममुक्त उद्योग घोषणा अभियान थालिएको छ । यसका लागि बालअधिकार संरक्षण र बालश्रम उन्मुलनलाई प्राथमिकता दिँदै नगरपालिकाले बहुपक्षीय सहभागितामा अनुगमन अभियान सुरु गरिसकेको छ । नगरभित्र सञ्चालित विभिन्न उद्योगमा बालश्रमको अवस्था बुझ्न नगरपालिकाले प्रारम्भिक चरणको अभियान सञ्चालन गरी उद्योगमा कार्यरत बालबालिकालाई उद्धारसमेत गरेको हो ।
नगरका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा, सुरक्षा निकाय, बालअधिकार संरक्षण समिति, बालक्लब एवं बालसञ्जाल, सञ्चारकर्मी तथा सरोकारवाला निकायको संयुक्त टोलीले पहिलो चरणमा वडा नं १ र ४ अन्तर्गत रहेका इँटा उद्योग, सिसा उद्योग, चप्पल कारखाना, बिस्कुट उद्योग, प्लास्टिक तथा ट्याङ्की उद्योगमा स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा बालश्रम नदेखिएका उद्योगलाई ‘बालश्रममुक्त उद्योग’को पहिचान–स्टिकर टाँस गरिएको नगर उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बालश्रम भेटिएका उद्योगलाई तत्काल सचेत गराइएको छ । यस्तै, १८ वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको पाइएमा अभिभावकको जिम्मामा घर फर्काउने र पुनःदोहोरिएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको नागरपालिकाका उपप्रमुख दाहालले बताउनुभयो ।
अनुगमनका क्रममा वडा नं १ मा सञ्चालित केही सिसा उद्योग तथा चप्पल कारखानामा भने बालश्रम प्रयोग भएको पाइएपछि सम्बन्धित उद्योग सञ्चालकलाई तत्काल सचेत गराउँदै बालबालिकालाई अभिभावकको जिम्मामा पठाइएको छ । उद्योग सञ्चालकलाई भविष्यमा बालश्रम प्रयोग नगर्ने प्रतिबद्धतासमेत गराइएको उपप्रमुख दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ नं वडामा सञ्चालित इँटा उद्योग, वाइन उद्योग, बिस्कुट तथा स्टिल उद्योगमा भने बालश्रम नदेखिएपछि स्टिकर टाँसेर बालश्रममुक्त उद्योग घोषणा गरिएको छ । बालबालिकालाई श्रममा लगाउनु कानुनविपरीत भएकाले उनीहरुको भविष्यसँग खेलबाड नगरी उद्योगलाई जिम्मेवार बनाउन र सचेतना फैलाउन यो अभियान सञ्चालन गरिएको दाहालको भनाइ छ । अभियानलाई निरन्तरता दिइने जनाइएको छ । राष्ट्रिय समाचार समिति (रासस)























































































































































