काठमाडौँ, काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन् ।अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए । उनीहरुले विगतका सरकारका पालामा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदा मासेर निजी भवन बनाउँदा वास्ता नगरेको गुनासो गरे ।
त्यसबेला गरिएको उजुरीको सुनुवाइ नगरी बेवास्ता गरेकाले वर्तमान सरकारले सार्वजनिक जग्गा खाली गराइरहँदा यस विषयमा जागरण फैलाउन प्रदर्शन गरिएको उनीहरुको भनाइ छ । सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताउनुभयो ।‘सम्पदा जोगाऔँ, सार्वजनिक पोखरी बचाऔँ’ भन्ने नाराका साथ अभियानकर्मीले ठमेलको कमलपोखरी सार्वजनिक स्थल भएकाले त्यसको अतिक्रमण गरी बनाइएको संरचना कानुनविपरीत भएको बताएका छन् ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































