काठमाडौँ, रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मा र महामन्त्री मीनवहादुर मल्ल, सदस्य, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठ र रेडक्रसको अन्तरराष्ट्रिय महासङ्घ नेपाल प्रमुख डेभिड फिसरले संयुक्त रूपमा झण्डोत्तोलन गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्माले नेपाल रेडक्रस सोसाइटीमा ठूलो सङ्ख्यामा युवा सहभागिता रहेको र युवाहरूलाई थप जिम्मेवारीसहित नेतृत्वमा ल्याउन पहल गरिरहेको बताउनुभयो । महामन्त्री मीनवहादुर मल्लले मानवीय सेवाका गतिविधिहरूलाई प्रभावकारी बनाउन रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूको आचारण र व्यवहारमा मानवता र ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी नेपालका प्रमुख डेभिड फिसरले विश्वमा रेडक्रस अभियान मानवीय सेवाका क्षेत्रमा एकबद्ध रहेको उल्लेख गर्नुभयो । थुप्रै चुनौतीहरूका बिचमा पनि नेपाल रेडक्रस सोसाइटीले भूकम्प, बाढीपहिरो तथा सुख्खा समयमा मानवीय सेवाका क्षेत्रमा गरेका कार्यहरू प्रशंसनीय रहेको उहाँको भनाइ थियो । दिवसका अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । जसमा १७ जनाले रक्तदान गर्नुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)






















































































































































