काठमाडौँ, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले संविधान र कानुनको परिधिभत्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।सभाको आजको बैठकमा उहाँहरुले महँगी नियन्त्रण र पेट्रोलिमय पदार्थको मूल्यवृद्धि फिर्ता लिइ अविलम्ब राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता कमला पन्तले सरकारका सकारात्मक कदमलाई आफ्नो दलले समर्थन गर्ने उल्लेख गर्दै संविधान र कानुनमाथि कोही नभएकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । “लोकतान्त्रिक विधि, पद्धति, संसदीय सर्वोच्चताको उच्च सम्मान गर्दै जनआकाङ्क्षा पूरा गर्नेतर्फ सरकार गम्भीर बनोस्, सरकारलाई शुभकामना छ”, उहाँले भन्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनआकाङ्क्षा सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।नेपाली कम्युनिष्ट पार्टी (एमाले)का संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले प्रक्रिया छोट्याएर कानुन बनाउन सकिने अवस्था हुँदाहुँदै अध्यादेश जारी गरिँदा संसद्को गरिमा कमजोर हुने बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले संविधानका विषयवस्तुबारे आफूहरुको असन्तुष्टि रहेको उल्लेख गर्दै संविधान संशोधनका क्रममा ती विषय सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता तुलप्रसाद विश्वकर्माले सुकुमबासी बस्ती व्यवस्थापन, अध्यादेशलगायत सरकारका पछिल्ला कामकारबाहीले प्रश्न उठाएको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































