कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित नमुना ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा भिम सिंह जाब्ली पुनः निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
यसैगरी, सहकारीको उपाध्यक्षमा खुशिलाल चौधरी निर्वाचित भएका छन् भने सचिवमा वीर बहादुर साउद पुनः दोहोरिएका छन्। कोषाध्यक्षमा लालसरा बोगटी निर्विरोध चयन भएकी छन्।
साधारण सभाबाट सदस्यहरूमा सुईते साउद, चन्द्र बहादुर दमाई, लालबिरा बोहरा, ठगुवा भुल र केशव बहादुर शाह निर्वाचित भएका छन्। त्यसैगरी लेखा समितिको संयोजकमा मान सिंह साउद चयन हुँदा सदस्यहरूमा बिन्द्रा देवी बिष्ट र मन्माजे साउद चयन भएका छन्।
सहकारीले ग्रामीण क्षेत्रमा उदाहरणीय काम गर्दै आफ्नै लगानीमा भवन निर्माण गरेको छ। करिब २४ लाख रुपैयाँ लागतमा हलसहितको भवन निर्माण गरिएको सहकारीले जनाएको छ ।
अन्य विद्युत सहकारीहरूमा अझै हातैले बिल काट्ने प्रचलन रहँदा नमुना ग्रामीण विद्युत सहकारीले भने मिटर रिडिङ्गदेखि बिलिङसम्मको काम मेसिनमार्फत गर्ने व्यवस्था मिलाएको छ। साथै, गाउँघरमा हुने चोरी तथा दुर्घटना न्यूनीकरणका लागि विभिन्न चौकहरूमा सडक बत्तीसमेत जडान गरिएको सहकारीले जनाएको छ।























































































































































