काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय उत्पादन वृद्धि, युवालाई स्वदेशमै रोजगारी, सुकुमवासी समस्या समाधान तथा सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
छलफलमा भाग लिँदै सांसद चन्द्रबहादुर केसीले नेपाली श्रमशक्ति निरन्तर विदेशिने र गाउँबस्ती रित्तिँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय उत्पादन वृद्धि र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिने विषयमा नीति तथा कार्यक्रम प्रभावकारी बन्न नसकेको टिप्पणी गर्नुभयो ।
सरकारले चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको वाचापत्रअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले विदेशिएका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्छ भन्नुभयो ।सांसद केसीले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धमा नीति तथा कार्यक्रममा स्पष्टता नभएको बताउनुभयो ।
सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भए पनि जनअपेक्षाअनुसारका विषय समेटिन नसकेको बताउनुभयो । उहाँले दिगो विकास हासिल गर्ने स्पष्ट नीति अभाव रहेको उल्लेख गर्दै उद्यमी तथा मध्यमवर्गलाई कर छुट दिने व्यवस्था सकारात्मक रहेको बताउनुभयो ।
सांसद राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने स्पष्ट नीति आवश्यक रहेको बताउँदै तीनखम्बे अर्थनीतिको विषय नीति तथा कार्यक्रममा उल्लेख नभएको टिप्पणी गर्नुभयो । साथै सामाजिक न्याय र लोककल्याणकारी राज्यको अवधारणा पनि नीति तथा कार्यक्रममा पर्याप्त रूपमा नसमेटिएको उहाँको भनाइ थियो ।
यसैगरी, सांसद रामकुमारी झाँक्रीले नीति तथा कार्यक्रममा बुँदा घटाइएको र पुरानै विषयको निरन्तरता मात्रै देखिएको बताउनुभयो । उहाँले सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रसहित बजेट आउनुपर्ने धारणा राख्नुभयो ।सांसद झाँक्रीले भू–उपयोग सम्बन्धी कानुन संशोधन गरी सिँचाइ व्यवस्थालाई प्रभावकारी बनाउने तथा भूमिको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































