म्याग्दी (बेनी), रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको पठनपाठनको तयारी भएको छ । मगर समुदायको बाहुल्य रहेका विभिन्न १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खामभाषा पठनपाठनको तयारी थालिएको हो ।मगर खामभाषा पढाउन नेपाल पुनमगर समाज रघुगङ्गा गाउँपालिकाले एक साता लामो प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खामभाषा किताब प्रकाशन गरेको समाजले विद्यालयमा खामभाषामा पढाउने जनशक्ति तयार गर्न प्रशिक्षण दिइएको पुनमगर समाजका अध्यक्ष टीका पुनमगरले जानकारी दिनुभयो ।मगर भाषाविज्ञ कर्णबहादुर बुढा मगरले सञ्चालन गर्नुभएको प्रशिक्षणमा १५ विद्यालयका शिक्षक सहभागी थिए ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































