कञ्चनपुर, आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारू उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।
सामाजिक न्याय, समावेशी शिक्षा तथा पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाएको छ ।
कार्यक्रम विशेषगरी अपाङ्गता भएका, दलित, जनजाति, मुक्त कमलहरी तथा नेपाल सरकारद्वारा अतिसीमान्तकृत र लोपोन्मुख घोषणा गरिएका समुदायका विद्यार्थीलाई लक्षित गरिएको छ । त्यसैगरी, राजी, माझी, सातार, सन्थाल, थामी, बादी, मुक्तकमैया, हलिया, चरुवा र राउटे समुदायका विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।
कार्यक्रमको नाम तत्कालीन पञ्चायती व्यवस्थामा राना थारू समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति लवरु राना थारूको नाममा राखिएको छ । तत्कालीन सयममा लवरु राना थारूलाई यस क्षेत्रको समाजको अगुवा तथा समाज सुधारकका रूपमा चिन्ने गरिन्थ्यो । यस छात्रवृत्तिको कार्यक्रमलाई स्थानीय पहिचान तथा आदिवासी समुदायप्रतिको सम्मानसँग जोडेर हेरिएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार छात्रवृत्ति पाउनका लागि विद्यार्थी पालिका क्षेत्रभित्रका क्याम्पसमा नियमित अध्ययनरत हुनुपर्ने, अन्य छात्रवृत्ति लिइरहेको भए त्यो खुलाउनुपर्ने तथा सम्बन्धित क्याम्पसको सिफारिसपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीबाट आवेदन सङ्कलन भएपछि विनियोजित बजेटबाट दामासाहीका रूपमा छात्रवृत्तिको रकम प्रदान गरिने बताइएको छ ।
स्थानीय तहले ल्याएको यो कार्यक्रमलाई शिक्षा क्षेत्रमा सकारात्मक पहलका रूपमा हेरिएको छ । यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका विद्यार्थीलाई उच्च शिक्षातर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
“छात्रवृत्तिका लागि छनोट प्रक्रिया पारदर्शी, निष्पक्ष र पहुँचभन्दा आवश्यकतामा आधारित हुन्छ”, नगरप्रमुख हेमराज ओझाले भन्नुभयो, “वास्तविक रूपमा आर्थिक अभावका कारण पढाइ प्रभावित भएका विद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृत्ति वितरण गरिनेछ ।” उहाँले छात्रवृत्ति कार्यक्रममार्फत सीमान्तकृत समुदायका विद्यार्थीलाई शिक्षामार्फत सशक्त बनाउने तथा उच्च शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































