गण्डकी, ‘स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान’ मूल नाराका साथ पोखरामा शनिबार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
पोखरा महानगरपालिका–५ वडा कार्यालयको प्रवद्र्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिको आयोजनामा बाराही माविको खेल मैदान सो प्रतियोगिता हुन लागेको हो । ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सक्रिय जीवनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रचारप्रसार समितिका संयोजक वसन्तराज गौतमले जानकारी दिनुुभयो ।
‘ज्येष्ठ नागरिक वाकिङ फुटबल खेल, मैत्रीपूर्ण कार्यक्रम २०८३’ नाम दिइएको उक्त प्रतियोगिताका लागि हालसम्म ७० पुरुषले नाम दर्ता गराइसक्नुुभएको आयोजकले जनाएको छ । उमेर प्रमाणित गर्न नागरिकता वा छिमेकीको सनाखतलाई आधार मानिएको प्रतियोगिताका संयोजक डा सरोज कोइरालाले बताउनुुभयो ।
ज्येष्ठ नागरिकलाई राज्यले दिने सम्मान र उनीहरूको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । नेपालमै पहिलोपटक यस्तो प्रतियोगिताको सुरुआत गरेर एउटा सकारात्मक सन्देश दिन खोजेको संयोजक डा कोइरालाले बताउनुुभयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































