म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी पठनपाठन सुचारु गरेको छ ।चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगङ्गा’ तयार गरेको हो ।
गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयारका लागि जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनको नेतृत्वमा गठन गरेको कार्यदलले पुस्तक तयार गरी प्रकाशन गरेका हो । एक सय पूर्णाङ्कको पठनपाठन हुने गरी स्थानीय पाठ्यपुस्तकको रुपमा पालिकाभित्रका ३३ सामुदायिक र एक संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई उक्त पुस्तक पठनपाठन गराउन सुरु गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नहेन्द्र आचार्यले जानकारी दिनुभयो ।
उक्त पाठ्यपुस्तक एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख विदुर चापागाईले विमोचन गर्नुभएको हो ।
विद्यालय तहका बालबालिकालाई पालिकाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कला, स्थानीय सीप र प्रविधि, कृषि, पशुपालनलगायतबारे जानकारी गराउन स्थानीय पाठ्यपुस्तकले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले पालिकाले छिट्टै कक्षा ४ र ५ को समेत पाठ्यपुस्तक तयार गर्ने जानकारी दिनुभयो । स्थानीय पाठ्यपुस्तकले विद्यार्थीलाई आफ्नै पालिकाको समग्र चिनारी गराउने छ ।पुस्तक निर्माण कार्यदलका संयोजक पुनले पालिकाका सबै बस्तीमा पुगेर आवश्यक विवरण तथा तस्बिर र सुझाव सङ्कलन गरी पालिकाको चिनारी हुने गरी पाठ्यपुस्तक तयार गरिएको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































