कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्।
पारिगडास्थित क्रियापुल्ती धारामा हिन्दू धार्मिक परम्परा अनुसार क्रिया–कर्म तथा पिण्डदानका समयमा सहजता होस् भन्ने उद्देश्यले वर र पिपलको बिरुवा रोपिएको हो। उक्त स्थानलाई “बाघ ब्राह कुल देवता” नाम दिँदै धार्मिक आस्था, पूर्वजप्रतिको सम्मान र समाज सेवाको भावनासहित वृक्षारोपण गरिएको बताइएको छ।
हिन्दू संस्कृतिमा वर र पिपललाई अत्यन्त पवित्र र देववृक्षका रूपमा लिइन्छ। विशेषगरी मृत्यु संस्कार, श्राद्ध, पिण्डदान तथा क्रिया–कर्मका अवसरमा यी वृक्षको विशेष महत्व रहने गर्दछ। तर स्थानीय नागरिकहरूले लामो समयदेखि क्रिया गर्नका लागि टाढाबाट पिपलका पात ल्याउनुपर्ने कठिनाइ भोग्दै आएका थिए। यही समस्यालाई समाधान गर्ने सोचका साथ विजय शाहले आफ्नै व्यक्तिगत लगानीमा यो उदाहरणीय कार्य गरेका हुन्।
कार्यक्रममा वडा सदस्य भावना विक, रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा, न्यू जोती आधारभूत विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष पदम तिरुवा, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष दल बहादुर तिरुवा, युवा समाजसेवी गणेश विश्वकर्मा लगायत स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वडा सदस्य भावना विकले शाहले गरेको यो कार्य जनहितमुखी र प्रेरणादायी रहेको बताइन्। उनले भनिन्,
“आफ्नै लगानीमा समाजलाई दीर्घकालीन लाभ पुग्ने यस्तो धार्मिक तथा सामाजिक कार्य गर्नु अत्यन्त प्रशंसनीय विषय हो। बिरुवा रोप्नु मात्र होइन, यसलाई संरक्षण र हुर्काउनु पनि हामी सबैको साझा जिम्मेवारी हो। स्थानीय सरकारबाट समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”
त्यस्तै रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्माले वर–पिपलको महत्व जीवन र मृत्यु दुवै अवस्थामा उत्तिकै रहने उल्लेख गर्दै यस्ता अभियानमा व्यक्तिगत तथा संस्थागत सहयोग रहने प्रतिबद्धता जनाए। उनले स्थानीय सरकारलाई समेत यस्ता पुण्य कार्यमा लगानी बढाउन आग्रह गरे।
न्यू जोती आधारभूत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पदम तिरुवाले परम्परादेखि समाजमा चल्दै आएको धार्मिक मूल्यलाई संरक्षण गर्ने उद्देश्यले बिरुवा रोपिएको बताए। उनले भविष्यमा बिरुवा हुर्किएपछि धार्मिक परम्परा अनुसार वर–पिपल विवाह समेत गरिने योजना रहेको जानकारी दिए।
शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष दल बहादुर तिरुवाले यो स्थान आगामी दिनमा धार्मिक केन्द्रका रूपमा विकास हुन सक्ने विश्वास व्यक्त गरे। उनले भने,
“मानिसको शरीर नश्वर भए पनि उसले गरेको असल काम अमर रहन्छ। शाहजीले आफ्नो बुवाको नाममा गरेको यो कार्य पुस्तौँसम्म सम्झन योग्य रहनेछ।”
युवा समाजसेवी गणेश विश्वकर्माले स्थानीयहरूले लामो समयदेखि महसुस गर्दै आएको आवश्यकतालाई व्यवहारमा उतारिएको बताए। उनले भने,
“क्रियापुल्ती धारामा क्रिया–कर्मका लागि वर–पिपल आवश्यक थियो। धेरै वर्षदेखि सबैको चाहना थियो, आज त्यो पूरा भएको छ। जिउँदो हुँदा होस् वा मृत्यु संस्कारमा—वर र पिपलको धार्मिक महत्व सधैं रहन्छ।”
स्थानीयवासीका अनुसार आगामी केही वर्षमा बिरुवा हुर्किएपछि क्रिया–कर्म, पिण्डदान तथा धार्मिक गतिविधिका लागि आउने नागरिकलाई ठूलो सहजता पुग्ने अपेक्षा गरिएको छ।
पूर्वजप्रतिको सम्मान, धर्म संस्कृतिको संरक्षण र समाजप्रतिको उत्तरदायित्वलाई एकै ठाउँमा जोड्ने यस्तो कार्यले गाउँमा सकारात्मक सन्देश दिएको छ। स्वर्गीय डबले शाहको सम्झनामा गरिएको यो वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यक्रम नभई श्रद्धा, संस्कार, सेवा र सत्कर्मको जीवित प्रतीक बनेको स्थानीयहरूको विश्वास छ।






















































































































































