गण्डकी, बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषण गरिएसँगै गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या पाँच पुगेको छ । बालमैत्री स्थानीय शासन ‘राष्ट्रिय रणनीति, बालमैत्री कार्यान्वयन कार्यविधि–२०६८’ र ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८’ मा विभिन्न ५१ सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका÷गाउँपालिका घोषणा गर्न सकिने व्यवस्था छ ।
सरकारले विसं २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएको पोषणमैत्री अभियानका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले जानकारी दिनुभयो । बाल बचाउमा १४, बाल संरक्षणमा १० बाल विकास र बाल सहभागितामा छ÷छ गरी सेवा प्रवाहसम्बन्धी ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक पूरा हुनुपर्ने प्रावधान छ । बालमैत्री स्थानीय शासनयुक्त घोषणासँगै सम्बन्धित स्थानीय तहलाई बालश्रममुक्त, बालविवाहमुक्त र सडक बालबालिकामुक्तसमेत घोषणा गर्ने गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस)
























































































































































