कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले वनबाट प्राप्त आम्दानीलाई सामाजिक तथा विकास निर्माणका क्षेत्रमा लगानी गर्दै उदाहरणीय कार्य गरेको छ।
शनिबार सम्पन्न समूहको सातौं वार्षिक साधारण सभा तथा आर्थिक वर्ष २०८२/०८३ को आमभेलामा वनका अध्यक्ष जनक गिरीले ढलापडा काठ तथा दाउरा बिक्रीबाट प्राप्त आम्दानीलाई शिक्षा, सडक निर्माण तथा मर्मत, खानेपानी, विद्यालयको भौतिक पूर्वाधार विकास तथा विपन्न उपभोक्ताको आर्थिक अवस्था सुधारका लागि खर्च गर्दै आएको बताएका छन्।
उहाँले वन विकास कार्यक्रमसँगै स्थानीय बासिन्दाको आवश्यकता र प्रत्यक्ष सरोकारलाई मध्यनजर गर्दै सार्वजनिक हित तथा विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखी लगानी गरिएको बताउनुभयो। वनको आम्दानी वन संरक्षण र विकाससँगै सामाजिक क्षेत्रमा लगानी गर्दा स्थानीय उपभोक्ताको जीवनस्तरमा समेत सुधार आएको उहाँको भनाइ छ।
अध्यक्ष गिरीले वन विकास, संरक्षण तथा सामाजिक क्षेत्रमा गरिएको लगानीका कारण स्थानीय उपभोक्ताले रोजगारीसमेत पाउने गरेको बताउनुभयो। सामुदायिक वनको आम्दानीमध्ये पहिलो प्राथमिकता वन विकासलाई नै दिइएको उहाँले स्पष्ट पार्नुभयो। उपभोक्ताको सेवाका लागि वनले ट्र्याक्टर खरिद गरेको र गरिब तथा न्यून आय भएका उपभोक्ताहरूलाई निःशुल्क ढुवानी सेवा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो।
उहाँले वन जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा सम्पूर्ण उपभोक्ता तथा सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। वनबाट प्राप्त लाभ केवल आजका लागि मात्र नभई भावी पुस्ताका लागि समेत भएकाले वन विनाश होइन, संरक्षणको अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो।
जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोहन्याल गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष रतन प्रसाद भाट प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा अतिथिको रूपमा वडा सदस्य तथा कार्यपालिका सदस्य नानी दमाई, सब–डिभिजन वन कार्यालय फलेबिसौनाका वनरक्षक नवराज भण्डारी, शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढा र हिमालय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धन बहादुर गिरी लगायतको सहभागिता रहेको थियो।
वनका उपाध्यक्ष भीम बहादुर थापा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष निर्मला देवी बगाले मगरले आर्थिक वर्ष २०८२/०८३ को ३३ लाख ४२ हजार ५ सय ११ रुपैयाँ २ पैसाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सहसचिव विष्णु बहादुर बुढाले गर्नुभएको थियो।
साधारण सभा तथा आमभेलाबाट शान्ति माध्यमिक विद्यालयलाई ५ लाख रुपैयाँ सहयोग गरिएको छ भने चाँदनी आधारभूत विद्यालयको खानेपानी व्यवस्थापनका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। त्यस्तै, दुर्गा खत्रीको घरदेखि पिच सडकसम्म ग्राभेल तथा खाल्टाखुल्टी व्यवस्थापनका लागि १ लाख रुपैयाँ, पलप गिरीको घरदेखि हिमालको घरसम्मको ग्राभेल सडकका लागि ५० हजार रुपैयाँ र गगन विकको घरदेखि जनक आउजीको घरसम्मको ग्राभेल सडक निर्माणका लागि १ लाख रुपैयाँ उपभोक्ताको मागअनुसार विनियोजन गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो।
उहाँका अनुसार सामुदायिक वनले विभिन्न समयमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ। साथै उपभोक्तालाई आवश्यक काठ सहुलियत दरमा उपलब्ध गराउँदै आएको समेत उहाँले बताउनुभयो। वन सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण र व्यवस्थापनमा सबै उपभोक्ता तथा सरोकारवाला निकाय एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।
सामुदायिक वनले वार्षिक कार्ययोजनाअनुसार कुल आम्दानीको २५ प्रतिशत रकम वन विकासमा, ३५ प्रतिशत रकम स्थानीय गरिब तथा विपन्न वर्गको उत्थानमा र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ।
नेपालमा हाल २२ हजार ३ सय ८० सामुदायिक वन उपभोक्ता समूह रहेका छन्। ती समूहले २३ लाख ३७ हजार ६ सय ७० हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेका छन् भने करिब ३३ लाख ४० हजार उपभोक्ता परिवार सामुदायिक वनमा आबद्ध रहेको महासंघले जनाएको छ। नेपालको कुल वन क्षेत्रमध्ये करिब ३७ प्रतिशत क्षेत्र सामुदायिक वनले ओगटेको छ।



















































































































































