कैलाली । नेपाली प्रवासी सङ्घ पश्चिम मुम्बई नगर समितिको आयोजनामा भारतको पश्चिम मुम्बईस्थित बोरिवलीमा नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा वरिष्ठ पत्रकार वीरेन्द्र बहादुर रावललाई स्वागत, भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली प्रवासी सङ्घ महाराष्ट्रका सह–इन्चार्ज तथा केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले खादा र फूलमालाले रावललाई सम्मान गरेका थिए।
कार्यक्रममा नेपाली प्रवासी सङ्घ महाराष्ट्रका अध्यक्ष पदम बम, राज्य समिति सदस्य मनिषकुमार भूमि, राष्ट्रिय युवा सङ्घ नेपाल मोहन्यालका अध्यक्ष दिपेश टमट्टालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा राज्य समिति सदस्य तिलक शाहीसहित विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।
नगर अध्यक्ष प्रेम मयालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव तिलक साउदले गरेका थिए भने नगर समितिका उपाध्यक्ष अरुण बमले अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए।
यसै अवसरमा अभिराज विश्वकर्मा, सुरेश मयाल, सरिता सुनार, नरेन्द्रसिंह टमट्टा, पार्वती पछी, प्रेमसिंह परियार, प्रकाश शर्मा जैसी, गणेशबहादुर खत्री, कमल ओली, बसन्ती खत्री खड्का, पद्मा रावल र महेन्द्रसिंह परियारलगायतले विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
प्रमुख अतिथि महेन्द्रबहादुर शाहीले प्रवासमा रहेका नेपालीहरूलाई पार्टीभित्र विभेदरहित अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिँदै रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीहरूको योगदानको उचित सम्मान हुनुपर्ने धारणा व्यक्त गरे। उनले प्रवासी नेपालीहरू अवसरबाट वञ्चित हुन नहुने बताए।
विशेष वक्ता वीरेन्द्रबहादुर रावलले प्रवासमा रहेका नेपालीहरूको हकहित संरक्षणमा प्रवासी संगठनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीको नीति, नेतृत्व र संगठनलाई सुदृढ बनाउन प्रवासबाट पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
रावलले प्रवासी नेपालीहरूले भोग्दै आएका समस्या, विभेद, अन्याय तथा शोषणविरुद्ध संगठित रूपमा आवाज उठाउँदै पार्टी कमिटीसँग समन्वय गरी समाधानका लागि प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका थिए।




















































































































































