कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ ले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शुक्रवार एक कार्यक्रमकाको आयोजना गर्दै वडावासीका बिच आर्थिक वर्ष २०७९/०८० का आफ्ना वार्षिक गतिविधिहरू सार्वजनिक गरेको हो ।
वडा कार्यालयले चालु आर्थिक वर्षमा ३० लाखका विभिन्न योजनाहरू निर्माण गरेको वडा सचिव अशोक भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडा कार्यालयले यस आर्थिक वर्षको असार २० गते सम्म १३ लाख ३० हजार ९ सय ३२ रुपैयाँ ५० पैसा राजस्व सङ्कलन गरेको छ । सम्पत्ति करबाट ५ लाख ६० हजार २९ रुपैयाँ ५ पैसा राजस्व सङ्कलन गरेको कार्यालयले भूमि कर तथा मालपोतबाट ३ हजार ८ सय ८९, घर बहाल करबाट १ लाख ४५ हजार ८ सय ९४, बहाल बिटौरी कर १३ हजार २ सय सरकारी सम्पति बहालबाट प्राप्त आय १ हजार ४ सय नक्सा दस्तुर ३ हजार ९ सय सिफारिस दस्तुरबाट ३ लाख ३२ हजार ८ सय ७०, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ८८ हजार ८ सय, नाता प्रमाणित दस्तुरबाट ९५ हजार ४ सय नाता प्रमाणित दस्तुर १३ सय ५० रूपैयाँ र अन्य दस्तुरबाट १ लाख ६१ हजार ३ सय रुपैयाँ सङ्कलन गरेको छ ।
यस्तै यो वर्ष ८ सय १२ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । ३ सय ५० जनाले ज्येष्ठ नागरिक भत्ता, ५८ जनाले ज्येष्ठ नागरिक एकल महिला भत्ता, ५८ जनाले एकल महिला भत्ता, ९ जनाले पूर्ण अपाङ्गता भत्ता, २८ जनाले अति असक्त अपाङ्गता भत्ता र १४७ जनाले दलित बालबालिकाले भत्ता प्राप्त गरेका हुन ।
वडा कार्यालयमा यो वर्ष ४ सय ३४ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् । २ सय १३ जनाको जन्म दर्ता भएको छ भने ३८ जनाको मृत्यु दर्ता गरिएको छ । यस्तै २८६ जना वडामा बसाई सरी आएका छन् भने ६६ जना बसाई सरी गएका छन् । २ जनाले सम्बन्ध विच्छेद, ६४ जनाले विवाह दर्ता गराएका छन् ।
वडा अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न टोलहरूबाट स्थानीयहरूको सहभागिता रहेको थियो । उनीहरूले जनप्रतिनिधि तथा कर्मचारीलाई प्रश्न, जिज्ञासा राख्दै सुझावहरू समेत दिए । प्रश्नहरूको जवाफ दिँदै जनप्रतिनिधि तथा कर्मचारीहरूले जनताको सुझावलाई निकै सकारात्मक रूपमा ग्रहण गरी अघि बढ्ने बताएका छन् ।
























































































































































