कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको जनकल्याण सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम थालेको हो । सोमवार सामुदायिक वनको आम भेला तथा आय व्याय प्रस्तुत कार्यक्रममा वनका अध्यक्ष जनक गिरीले वनको आम्दानीको रकम गाउँको शैक्षिक क्षेत्र ,सडक निर्माण तथा मर्मत खानेपानी ,विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि खर्च गरेको र फेरि पनि खर्च गर्ने बताउनुभयो । समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।
वनको आम्दानी वनको विकास संगै सामाजिक क्षेत्रमा लगानी गरि उपभोक्ताको जिवनमा सुधारको कार्य थालनी गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा वनको लगानीले स्थानीय उपभोक्तानै लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वन विकास ,वनको संरक्षण तथा सामाजिक क्षेत्रको वनको लगानीले उपभोक्ताले रोजगारी समेत पाउने गरेको बताउनुभयो ।उहाँले सामुदायिक वनको आम्दानीले सवैभन्दा पहिलो प्राथमिकता वन विकास नै भएको पनि बताउनुभयो । सामुदायिक वनले आफ्ना नयाँ कार्यक्रम अन्तर्गत यसवर्ष पनि वन क्षेत्रको विकासका लागि डढेलो नियन्त्रण ,गस्ती परिचालन ,ढढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक तालिम,अग्नि नियन्त्रण सम्बन्धि प्रचारप्रसार तथा सामाग्री,चोरी निकासी रोक्न तारबार, बृक्षारोपण, गोडमेल ,झाडी सरसफाइ लगाएतका कार्यक्रम यस अघि गरेको जनाएको छ । यी कार्यक्रममा समेत स्थानीय उपभोक्ता कै सहभागी हुनेहुदा रोजगारीको आधार समेत सामुदायिक वनबाटै हुने अध्यक्ष जनक गिरीले बताउनुभयो ।यतिमात्र नभई जनकल्याण सामुदायिक वनले उपभोक्ताको सेवाका लागि करिव १९ लाख ८० हजार ८ सय ५० रूपैयाँ बराबरको ट्रयाक्टर खरिद गरिएको छ । केही वर्ष अघि यसैगरी सडक विकासको लागि ८५ हजार खर्च गरिएको छ जुन काम बौनिया सडक हुँदै आउने बाटोका खाल्डा खुल्डी पुर्दै फलेविसौना पिपल चौतारा सम्म ग्राइविल गरिएको अध्यक्ष गिरीले वैज्ञानिक मीडियालाई जानकारी दिनुभयो त्यसै गरी,चाँदनी बाल विकास भवन निर्माणका लागि ४ लाख , स्वास्थ्य इकाई लाई सहयोग ५ लाख सामुदायीक बनले सहयोग गरी सकेको छ भने शान्ति माध्यमिक विद्यालय लाई १० लाख रुपैयाँ बजेट दिने भने निर्णय गरेको सामुदायीक बनका पदाधिकारीहरुले बताएका छन्।१ सय ९४ घरधुरीका उपभोक्ताले सामुदायिक वनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले दावी गरेको छ ।सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ । जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७९/०८० सालको वार्षिक आय ब्याय प्रश्तुत भएको छ।
सामुदायिक वनका सदस्य जय धामीकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडा अध्यक्ष नवीन गिरि रहनु भएको थियो। वडाध्यक्ष गिरिले आफ्नो भनाई राख्दै सामुदायिक वनका पधाधिकारी लाई निर्देश गर्दै उपभोक्ताको समस्यालाई मद्यनजर गर्दै सदैब आम जनताको हित हुने काममा लाग्न सुझाव दिनु भयो। उपभोक्ताको आवश्यकताको पहिचान गरि नीति नियममा रहि दाउरा र काठ सहुलियत रूपमा उपलब्ध गराउन समेत वडाध्यक्ष गिरिले आग्रह गर्नु भयो। कार्यक्रमका विभिन्न सघं संस्थाका प्रतिनिधिहरुले सुभकामना मन्तव्य राखेका थिए ।आर्थिक बर्ष २०७९/०८० सालको कुल २४ लाख ३८ हजार ४ सय ५१ रुपैयाँ बराबरको आय ब्याय सस्थाका सह-सचीव बिष्णु बुढाले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो। सोही कार्यक्रममा निःशुल्क ३ महिले सिलाई कटाई तालिम सिकेका २२ जना महिला दिदीबहिनीलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । ती समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन् । कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनले ओगटेको छ । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।नेपालको वन क्षेत्र बढाउन सामुदायिक वनको उल्लेखनीय भूमिका छ । सामुदायिक वनको हरेक कार्यक्रम स्थानीय उपभोक्ताको हितलाई केन्द्रमा राखेर वन संरक्षण गरेको पाइन्छ । सामुदायिक वन स्थानीय उपभोक्ताको अभिभावक हुन सफल भएको छ । हरियाली र वन संरक्षण गरेर विकास गर्ने सकिन्छ भनेर समुदायिक वनको कामबाट सिक्न सकिन्छ ।























































































































































