धनगढी। कैलाली प्रहरीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार प्रहरीको थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु भएको हो।धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको
अभियोगमा उनी पक्राउ परेका थिए। बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको मृत्युको कारण खुलेको छैन। दाइ गणेश सेट्टीले बुधबार साँझ कृष्णको स्वास्थ्य राम्रो रहेको बताए।जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता चन्दका अनुसार सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए।
जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो। थापाको हत्या भएपछि मङ्गलबार जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक चन्दसहितको प्रहरी टोली घटनास्थल गएको थियो।
         
        
                                                
                                                
                                                
                                                
                                                


































                    
                    
                    
                    
                    



























































































































