काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन्।अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्तावापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिए।
सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अंगका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुननिर्माणपछिको कामका लागि स्रोतको कमि नरहेको बताए। उनले भूकम्पले पुर्याएको क्षतिको तथ्याङ्क आउने बित्तिकै पुननिर्माणको काम सुरू गरिने उल्लेख गरे। उनले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संरचनाको अस्थायी र स्थायी संरचना सङ्घ सरकारले निर्माण गर्ने गरेर तयारी भइरहेको जानकारी दिए।
‘विद्यालयको अस्थायी संरचना निर्माणका लागि आवश्यक बजेट बुधबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ’, उनले भने, ‘अन्य सार्वजनिक संरचनाको काम पनि सँगसँगै अघि बढाउँछौँ।’कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा अङ्गका प्रमुखलगायतको सहभागिता थियो।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































