झापा । कम्पनीको व्यापक असहयोग, कानुनी झन्झट र व्यवहारिक जटिलताका कारण घर दुबईबाट घर फर्कन नपाएर कष्टकर जीवन बिताइरहेका झापालीका एक युवाको उद्दार गरिएको छ। भद्रपुर नगरपालिका-१० का अजीत राजवंशीलाई उद्दार गरी स्वदेश ल्याइएका हो। झापा १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा उनलाई स्वदेश फर्काइएको नेपाली जनसम्पर्क समिति युएइका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाले बताए।उनलाई नेपाल ल्याउन १ महिनाभन्दा बढी समयदेखि कोसिस गरिँदै आएको थियो।
पछिल्लोपटक दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमा राजवंशी अलपत्र परेको सन्देश पोस्ट गरेर शर्मालाई लिङ्क पठाएका थिए । त्यसलगत्तै सांसद शर्माले दुबईस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष तिम्सिनालाई सम्पर्क गरेर अजीतको जसरी पनि उद्दार गर्न आग्रह गरेका थिए। त्यसपछि अजीतको उद्दारको प्रक्रिया सुरु भएको थियो।माघ १७ गते राति काठमाडौं आइपुगेका राजवंशी आजै झापा पुग्ने कार्यक्रम रहेको कांग्रेसका नेता प्रज्वल कोइरालाले बताए। रोजगारीका लागि दुबई पुगेका राजवंशी काम गर्दागर्दै अचानक बिरामी परेका थिए।





























































































































































