काठमाडौं। भ्याली भ्यु स्कुलका प्रिन्सिपल एवम् कवि सुभाषचन्द्र भण्डारी सम्मानित भएका छन्। लर्निङ रिलम इन्टरनेसनल स्कुल (एलआरआई) काठमाडौंको ३६औँ स्थापना दिवसका अवसरमा मंगलबार भण्डारी सम्मानित भएका हुन्।
उनलाई सिद्धार्थ वनस्थली स्कुलका संस्थापक तथा शिक्षासेवी स्व. लक्ष्मण राजवंशीको सम्झना र सम्मानमा स्थापना गरिएको ‘लक्ष्मण राजवंशी अवार्ड’ सहित नगद पच्चिस हजार प्रदान गरिएको हो।
भारतीय दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. अश्वरी बापटको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बिचमा विशिष्ट अतिथि सिद्धार्थ वनस्थलीका प्राचार्य रूपक राजवंशीले उक्त सम्मान अर्पण गरेका हुन्।
भण्डारीले अवार्ड ग्रहण गरेपछी यस सम्मानले आफूलाई शिक्षा क्षेत्रमा समर्पित हुन थप प्रेरित गरेको बताए। आफूलाई सम्मानका लागि योग्य ठानेकोमा एलआरआई ट्रस्टका संस्थापक, शिक्षासेवी शिवराज पन्त, यशोधरा पन्त र विद्यालय परिवारप्रति आभार व्यक्त गरेका छन्। भण्डारी दुई दशकदेखि शिक्षा र साहित्य क्षेत्रमा सक्रिय छन्।


































































































































































