
फागुन । जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनी रहेका छन् । बारा प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका ४ स्थित हरिहरपुरमा चेकजाच गर्दा नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेका व्यक्तिबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज दुई सय ८६ थना समेत फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक नबिन राईले जानकारी दिए ।पक्राउ परेकालाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।