कैलाली। पछिल्लो एक सातामै कैलालीको घोडाघोडी नगरपालिकामा सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाए भने ७ जना घाइते भएका छन्।
नगरपालिकाको वडा नम्बर १,४ र ५ का ३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन। क्रमशः कमल तिरुवा, नरबहादुर धामी र देउकलियाका भल्मन्सा समेत रहेका चनकलाल चौधरीले १ साताको अवधिमा ज्यान गुमाएका छन्।
यस क्षेत्रमा दुर्घटना बढेपछि इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख डिएसपी दीपेन्द्र कुमार पाल आफै फिल्डमा उत्रिएका छन्। डिएसपी पालको कमान्डमा चेकिङ्गको क्रममा नियम विपरीत चलेका दर्जन बढी टिप्पर, ट्याक्टर तथा मोटरसाइकल कारबाहीमा परेका छन्।
लाइसेन्स नभएका ओभर लोड तथा ट्राफिक नियम विपरीत चलेका सवारीलाई जरिवाना गरेर छोडिएको छ भने केही टिप्पर र ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पालले जानकारी दिए।































































































































































