
कैलाली । वन जंगल संरक्षणको अधिकार पाएका सामुदायिक वनभित्रबाट नै अवैद्य वन फँडानी नियन्त्रण हुन सकेको छैन । दिन दहाडै सालका गोलिया काटिनु र हेरचाह गर्ने जिम्मेवारीमा रहेका वन समिति, वन हेरालु र वन कर्मचारी नै अनविज्ञ हुनुमा मिलेमतोको आशंका गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ दानुफाँटा शिविरस्थित दानुफाँटा नमूना सामुदायिक वन क्षेत्रमा हरियो सालका रुख काटिएका हुन् । कसले, किन यसरी वन काटेको हो ? चोरी तस्करीमा संलग्नको पहिचान गरि कारबाही गरिनुपर्ने स्थानीय वन उपभोक्ताहरु बताउँछन् । सामुदायिक वनमा दुई सालका रुख कटानी गरि तस्करहरुले लिने तयारीमा रहेको खुलेको छ । सामुदायिक वनका अध्यक्ष टेकराज जोशीले वन तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरेको अवस्थामा फेला परेको बताए । रुख कटानी भएका क्षेत्रमा कुनै पनि सवारी साधन जान नसक्ने उनको भनाइ छ ।
दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उनले राती वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए ।
उपभोक्ताले घाँस दाउरा र घरायसी प्रयोजनका लागि काठ समेत नपाउने, तस्करीहरुले वन फँडानी गर्ने गरेको गुनासो स्थानीयहरुले गरेका छन् ।