अहिले देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। त्यस्तै नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसोबाट नेपालको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बहिर्गमन भएको छ। पश्चिम तथा मध्य क्षेत्रबाट केही अघि बाहिरिए पनि देशको पूर्वी भेगबाट शनिबार मनसुन बहिर्गमन भएको हो। अहिले बिहान कोशी, मधेस र बाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
आइतबार दिउँसो मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति लुम्बिनि प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
























































































































































