
कैलाली । सेती लोक मार्गको तीव्र निर्माणमा दबाब दिन तथा बर्दगोरियाका पर्यटकीय क्षेत्रको पहिचानका लागी महोत्सव हुने भएको छ । विगत देखी बौनियाँ बजार व्यवस्थापन समितिले सञ्चालन गर्दै आएको महोत्सव यस पटक भने स्थानीय इन्द्रेणी युवा क्लब नौनीयाले आयोजना गर्ने भएको छ ।
बर्दगोरियाको खुल्ला मञ्च मुडा बजारमा “स्थानीय कला सांस्कृतिक संरक्षणको अभियान, सेती लोकमार्ग बर्दगोरिया पुरैनातालको पहिचान” भन्ने नाराका साथ आयोजना हुने महोत्सव फागुन १ देखी १० गते सम्म सञ्चालन हुने छ । महोत्सवले कला संस्कृतिको संरक्षण सँगै व्यापार व्यवसायमा वृद्धि गर्ने छ । यस्तै निर्माणाधीन अवस्थाको राष्ट्रिय गौरवको आयोजनाको कामलाई तीव्रता दिन समेत महोत्सवले दबाब पुग्ने छ भने स्थानीय पर्यटकीय क्षेत्रको पहिचान समेत हुने अपेक्षा गरिएको छ ।
सेती लोकमार्ग भारत, नेपाल र चिन त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्त्वको सडक हो । यो सडक निर्माणाधीन चरणमा भए पनि निर्माणको कामले भने गति लिन सकेको छैन । यस्तै पर्यटन र धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेका बर्दगोरिया धाम, पुरैना ताल तथा पिरुवा क्षेत्र पनि पहिचानको पर्खाइमै रहेका छन् ।