
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको सन्त निरंकारी मण्डल नेपाल सत्संग भवन सडकपुर बौनियाँ शाखाले शनिबार (आज) मानव एकता दिवस मनाएको छ । दिवसको अवसरमा सडकपुर बौनियाँ शाखाले सत्संग भवनमामा रक्तदान कार्यक्रम समेत गरेको हो । ‘मानिसको रगत नालीमा होइन नाडीमा बगाऔँ’ भन्ने नाराका साथ कार्यक्रम गरेको हो ।
रगत नालीमा नभई, नाडीमा बगाउनुपर्छ भन्ने उद्देश्यका साथ हरेक वर्ष मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने गरिएको सडकपुर बौनियाँ शाखाका ब्रान्चमुखी विजय सिंह कुँवरले बताउनुभयो ।
सन्त निरंकारी मण्डल विश्वमै सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाको रुपमा परिचित छ । सडकपुर बौनियाँ शाखाका ब्रान्चमुखी विजय सिंह कुँवरको अध्यक्षता तथा पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा कैलाली क्षेत्र नम्बर २ (ख) का सांसद रामेश्वर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथी चौधरीले सन्त निरंकारी मण्डलले समाजमा गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो ।
सन् १९८० मा अप्रिल २४ मा बाबा गुरु वचन सिंको भारतमा अकालि दलले हत्या गरेपछि उनका अनुयायीहरुले हत्या भन्दा पनि रगतदान गरेर मानवता देखाउनुपर्ने भन्दै हरेक वर्ष अप्रिल २४ तारिखका दिन मानव एकता दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा २१ महिला ५९ पुरूषगरि ८० जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल सरकारका पूर्व उपसचिव झंकरबहादुर बिष्ट, रेडक्रस कैलाली जिल्ला शाखा मन्त्री राकेश हमाल रहनुभएको थियो । सोही कार्यक्रममा स्वास्थ्य सेवा सह- संयोजक धर्मराज जोशी, रक्त सञ्चार प्रमुख धरणी प्रसाद पन्त, रेडक्रस दोदोधारा उप- शाखा सभापति लक्ष्मी जोशी, समाजसेवी अमर राना र कोटागढी बजार विकास समितिका उपाध्यक्ष तिलबहादुर सुनार लगायतका अतिथिहरू रहनुभएको कार्यक्रममा स्वागत मन्तव्य स्थानीयमुखी जनक साउँदले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन पूर्व सेवादल शिक्षक सुरत बहादुर बिष्ट गर्नुभएको हो ।