सुदूरपश्चिम कला–साहित्यको धनी प्रदेश हो : प्रदेश प्रमुख मियाँ

कैलाली, — सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशलाई कला, संस्कृति, साहित्य, भेषभूषा र मौलिक पहिचानले भरिपूर्ण प्रदेशको रूपमा चित्रण गरेका छन्। धनगढीमा आयोजित दोस्रो सन्ध्याकालीन ‘चैतन्य मिनि मेला’ को उद्घाटन गर्दै यस क्षेत्रको मौलिक सांस्कृतिक सम्पदा र रचनात्मक अभ्यासले समग्र नेपाली समाजमा गहिरो प्रभाव पारेको बताएका थिए । प्रदेशको सम्पदा संरक्षण र प्रवर्द्धनमा सबैको अग्रसरता आवश्यक रहेको उनले बताएका थिए ।

सुदूरपश्चिमलाई “सुन्दर पश्चिम” को संज्ञा दिँदै उनले कला–संस्कृतिको गर्विलो पहिचानलाई अझ व्यापक बनाउने लक्ष्यमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न जातजातिका मौलिक नृत्य, भाका तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।

‘द टुइन्स : ए कम्प्लिट इन्स्टिच्युट’को आयोजनामा सुरु भएको मेला असार २१ गतेसम्म दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने बताइएको छ। उद्घाटन सत्र संयोजक केशव बलायरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेशसभा सदस्य रक्षा महरा, चैतन्य स्कुलका प्रमुख कार्यकारी अधिकृत र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी हिरा दिदीलगायतको उपस्थिति थियो।

 

 

“सुदूरपश्चिम प्रदेश दर्पण” स्मारिका विमोचन

बिहीबार नै प्रमुखले “सुदूरपश्चिम प्रदेश दर्पण” नामक स्मारिकाको विमोचन गरेका छन्। यो स्मारिका सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयद्वारा पहिलोपटक प्रकाशित गरिएको हो।

विमोचन गर्दै उनले स्मारिकाले प्रदेशको सामाजिक, आर्थिक, भौतिक अवस्थाका साथै समृद्धिका सम्भावनाबारे महत्वपूर्ण सन्देश दिने विश्वास व्यक्त गरेका थिए । स्मारिकामा कार्यालयका विविध गतिविधि, कार्यक्रम तथा तस्बिरहरूको समावेश छ।

कार्यक्रममा सचिव नवराज ढुंगानाले स्मारिका प्रकाशनको उद्देश्य र प्रक्रिया प्रस्तुत गरेका थिए । कार्यक्रममा उपसचिव शेखरकुमार रोकाया, प्रमुख स्वकीय सचिव साबिर अली, सूचना अधिकारी दीर्घराज भट्ट, शाखा अधिकृत गंगाराम सापकोटा, शम्शेरबहादुर रावल, पुजा रतौकीलगायत कर्मचारीको उपस्थिति रहेको थियो।

सो अवसरमा गेटा मेडिकल कलेजबाट सरुवा भई आएका लेखा अधिकृत खडकबहादुर शाहीलाई विशेष स्वागत समेत गरिएको थियो।

स्काउट गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको छ

 

 

सोही दिन पहलमानपुरस्थित कलम बम मेमोरियल स्कुलमा आयोजित स्काउट दिवस विशेष कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले स्काउट गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको बताएका थिए । उनले स्काउटमार्फत विद्यार्थीलाई सामाजिक जिम्मेवारी, सेवा भावना र नैतिक शिक्षाको गहिरो अनुभूति गराउन सहयोग पुगिरहेको उल्लेख गरे ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले स्काउटले मानवीय विकासलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताएका थिए। सुदूरपश्चिम स्काउटका प्रमुख आयुक्त नरेन्द्र थापाले प्रदेशभर स्काउट अभियान सशक्त रूपमा विस्तार भइरहेको बताउँदै यसले युवाको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने धारणा राखे।

कार्यक्रममा वक्तृत्वकला, हाजिरजवाफ, चित्रकला प्रतियोगिता सम्पन्न भई विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। घोडाघोडी नगरपालिकाका उपसचिव खगेन्द्र सिंह र स्काउट अभियानी भीम अम्बईले स्काउट अभियानको प्रभावबारे प्रकाश पार्नुभएको थियो। अम्बईलाई सफल स्काउट अभियन्ताको रूपमा सम्मानसमेत गरिएको थियो। कार्यक्रम स्काउट संरक्षक युवराज बमको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?