आगामी वर्षका लागी बर्दगोरियाको बजेट एक अर्ब बढी 

  • भौगोलिक बजेटमा जिल्लामै पहिलो 
  • कैलाली । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागी कैलालीको बर्दगोरिया गाउँपालिकाको वार्षिक बजेट एक अर्ब नाघेको छ । सोमबार गाउँपालिकाको १६ औँ गाउँ सभा मार्फत उपाध्यक्ष गणेशराज गिरीले कुल १ अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरे ।

    चालु खर्च तर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ । यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ आन्तरिक आय सङ्कलन हुने तथा राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाको छ ।

    यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ५२ करोड २७ लाख प्राप्त भएको छ भने अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट ५ करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ । गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको (अ.ल्या) ३ करोड ४५ लाख छ भने सामाजिक सुरक्षाका लागी २७ करोड आम्दानी हुने बताइएको छ ।

     

    यस्तो छ, चालु बजेट खर्चको अवस्था

     

    बर्दगोरिया गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ का लागी अनुमानित बजेट ८० करोड एक लाख हो । कुल बजेट मध्ये ३३ करोड ७६ लाख चालुतर्फ र २२ करोड ९६ लाख पुँजीगत खर्चतर्फ विनियोजन गरिएको थियो । यस्तै सामाजिक सुरक्षातर्फको विनियोजित बजेट २३ करोड ८१ लाख हो । यसरी हेर्दा सामाजिक सुरक्षा बाहेक गाउँपालिकाको कुल बजेट ५६ करोड २० लाख हो ।

    कुल बजेट मध्ये चालु आर्थिक वर्षको जेठ मसान्त सम्म गाउँपालिकालाई ४५ करोड ३० लाख ४३ हजार रुपैयाँ मात्र प्राप्त भएको छ । जस मध्ये जेठ मसान्त सम्म २८ करोड ६२ लाख ६२ हजार ६ सय रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ५७.८ प्रतिशत खर्च हो । यस्तै चालु खर्चतर्फ विनियोजन गरिएको ३३ करोड ७६ लाख मध्ये २२ करोड २५ लाख अर्थात् ६७.६९ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ विनियोजित २२ करोड ९६ लाख मध्ये ६ करोड ३७ लाख अर्थात् ३८.२८ प्रतिशत बजेट खर्च गरिएको छ ।

     

    भौगोलिक बजेटमा जिल्लामै पहिलो

     

    कैलालीमा सबैभन्दा बढी बजेट धनगढी उपमहानगरपालिकाको हो । आगामी आर्थिक वर्षका लागी उपमहानगरपालिकाको कुल बजेट २ अर्ब ५६ करोड छ । १९ वटा वडा रहेको उपमहानगरपालिकामा भौगोलिक हिसाबले हेर्दा प्रति वडा १३ करोड बजेट विनियोजन भएको मान्न सकिन्छ ।

    यस्तै कैलालीको लम्कीचुहा नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागी १ अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको छ । भूगोलमा १० वडा रहेको यस नगरपालिकामा भौगोलिक बजेटका दृष्टिले प्रति वडा १२ करोड बढी बजेट विनियोजन भएको मान्न सकिन्छ ।

    यता बर्दगोरिया गाउँपालिकाले सोमबार १ अर्ब २ करोड बजेट सार्वजनिक गरेको छ । ६ वटा वडा रहेको यस गाउँपालिकामा भौगोलिक हिसाबले प्रति वडा १७ करोड बजेट विनियोजन भएको मान्न सकिन्छ । गाउँपालिकामा गत वर्ष भन्दा २२ करोड बढी बजेट प्राप्त हुने अनुमान छ । सबै बजेट प्राप्त भए समृद्ध पालिका निर्माण सँगै सुखी नेपालीको चाहाना पुरा हुने अपेक्षा गरिएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?