
कैलाली — कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेविसौनामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले स्थानीय विद्यालयहरूलाई कुल रु ९ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। शिक्षा क्षेत्रको सुदृढीकरणमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले अत्यन्तै सकारात्मक रुपमा लिएको छ।
समूहले वडाभित्रका चार विद्यालयलाई सहयोग स्वरूप प्रदान गरेको रकम यस प्रकार छ:
शान्ति माध्यमिक विद्यालय, फलेविसौना — रु ७,००,०००
चाँदनी आधारभूत विद्यालय, तल्लो फलेविसौना — रु २,००,०००
राष्ट्रिय आधारभूत विद्यालय, सल्लेरी — रु ३०,०००
लालीगुराँस आधारभूत विद्यालय, बुडीआम — रु ३०,०००
समूहका अध्यक्ष जनक राज गिरीले विद्यालयलाई “साझा सम्पत्ति” को रूपमा व्याख्या गर्दै भने, “विद्यालयहरू हाम्रा आफ्नै बालबालिकाहरूको भविष्य निर्माण केन्द्र हुन्। सामुदायिक वनबाट हुने आम्दानीलाई सामाजिक उत्तरदायित्वका साथ शिक्षा क्षेत्रमा लगानी गर्नु हाम्रो प्रमुख उद्देश्य हो।”
सहयोगले शिक्षाको गुणस्तरमा सुधारको अपेक्षा
विद्यालय प्रशासनका अनुसार, सहयोग रकम निजीस्रोतमा कार्यरत शिक्षकहरूको तलब भत्ता, पाठ्यसामग्री व्यवस्थापन र भौतिक पूर्वाधार सुधारमा खर्च गरिनेछ। प्रधानाध्यापकहरू तथा शिक्षकहरूले सामुदायिक वनको यस पहललाई शिक्षाको दिगो विकासतर्फको महत्वपूर्ण पाइला मानेका छन्।
एक शिक्षकका अनुसार, “सहयोगले शिक्षकको मनोबल वृद्धि गर्नुका साथै विद्यार्थीको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याउनेछ भनेका छन्।”
पारदर्शिता र समाजसेवाको उदाहरण
जनकल्याण सामुदायिक वनले आफ्नो आम्दानी — विशेष गरी ढलापडा काठ, दाउरा तथा अन्य वन उपजको बिक्रीबाट प्राप्त रकम — शिक्षा, स्वास्थ्य, तालिम, बाटो निर्माण र रोजगारीमूलक कार्यक्रमहरूमा पारदर्शी रूपमा खर्च गर्दै आएको छ।
सामुदायिक वनकी कोषाध्यक्ष निर्मला थापा मगर अनुसार, “सामुदायिक वनको आम्दानी समाजको समग्र विकासमा लगानी गर्नु हाम्रो उद्देश्य हो। यसले वन संरक्षणमा समुदायको चासो पनि बढाउने बताएकी छिन्।”
स्थानीय तहमा प्रशंसा र प्रेरणा
स्थानिय अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरूले यस प्रकारको सहयोगलाई सामाजिक उत्तरदायित्वको अनुकरणीय अभ्यासका रूपमा व्याख्या गरेका छन्। उनीहरूको भनाइमा, यस्तो सहयोगले अन्य सामुदायिक वनहरूलाई पनि शिक्षा क्षेत्रमा लगानी गर्न प्रेरणा दिनेछ।
“यो केवल सहयोग मात्र होइन, हाम्रो भविष्यप्रतिको लगानी हो,” एक अभिभावकले भने।
जनकल्याण सामुदायिक वनको यो कदमले स्थानीय शिक्षा प्रणालीमा सुधार ल्याउनुका साथै सामुदायिक स्रोतको प्रभावकारी र पारदर्शी उपयोगको प्रेरणादायी नमुना प्रस्तुत गरेको छ।