नेपाल सीमा हुँदै जैशका ३ आतंकवादी बिहार पसेको दावी

पटना । विधानसभा चुनावअघि बिहारमा आतंकको खतरा बढ्दै गएको छ। गुप्तचर सूचना पछि पुरै राज्यमा उच्च सतर्कता जारी गरिएको छ।प्राप्त जानकारी अनुसार पाकिस्तानको प्रतिबन्धित संगठन जैश–ए–मोहम्‍मदसँग आवद्ध तीन जना आतंकवादी नेपाल हुँदै बिहार प्रवेश गरेको दावी गरिएको छ। उनीहरू हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान रहेको भारतीय मिडियाहरुले उल्लेख गरेको छ।बिहारमा विधानसभा चुनाव नजिकिँदै गर्दा आतंकवादी गतिविधिको आशंका बढेको छ। प्रहरी मुख्यालयलाई प्राप्त महत्वपूर्ण गुप्तचर सूचना पछि पुरै राज्यमा उच्च सतर्कता जारी गरिएको हो। सूचनाअनुसार पाकिस्तानका तीन आतंकवादी नेपालमार्ग हुँदै बिहार प्रवेश गरिसकेका छन्।

 

 

यी आतंकवादीहरू प्रतिबन्धित संगठन जैश–ए–मोहम्‍मदसँग आवद्ध रहेको पाइएको छ। उनीहरूको परिचय रावलपिण्डी निवासी हसनैन अली, उमरकोट निवासी आदिल हुसैन र बहावलपुरका मोहम्मद उस्मानका रूपमा भएको छ। जानकारी अनुसार ती तीनै जना आतंकवादी साउन दोस्रो सातातिर काठमाडौँ पुगेका थिए र त्यहाँबाट गत हप्तामै सीमा पार गरी बिहार प्रवेश गरेका हुन्।

 

 

भारतीय प्रहरी मुख्यालयले यस सूचनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। तीनै आतंकवादीको पासपोर्ट तथा अन्य विवरण सीमावर्ती जिल्लाहरूको प्रशासन र सुरक्षा निकायसँग साझा गरिएको छ। विशेष गरी नेपालसँग जोडिएका क्षेत्रमा सुरक्षा व्यवस्था अझ कडाइ गरिएको छ।गुप्तचर स्रोतहरूका अनुसार यी आतंकवादीहरूले देशको जुनसुकै क्षेत्रमा आतंकी घटना गराउन सक्ने सम्भावना छ। बिहार विधानसभा चुनावलाई दृष्टिगत गर्दा यो सतर्कता अझ संवेदनशील मानिएको छ, किनभने आतंकवादीहरूले कुनै ठूलो राजनीतिक सभा वा भीडभाड भएको कार्यक्रममा आक्रमण गर्न सक्ने आशंका गरिएको छ।

 

 

प्रहरी मुख्यालयले सबै जिल्लाका प्रहरी प्रमुखहरू र गुप्तचर संयन्त्रलाई सतर्क रहन निर्देशन दिएको छ। साथै, शंकास्पद गतिविधि माथि नजर राख्न, निरन्तर सूचना संकलन गर्न र कुनै पनि सुराग भेटिए तुरुन्त कारबाही गर्न भनिएको छ।बिहार प्रहरी यसबेला पूर्ण अलर्ट मोडमा छ र सीमावर्ती जिल्लाहरूमा खोज तथा अनुसन्धान अभियान तीव्र पारेको छ। सुरक्षा निकायहरू कुनै पनि किसिमको आतंकी गतिविधि राज्यमा हुन नदिन जुटेका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?