
झापा, युवाहरू ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड भएका यहाँका प्रहरी चौकी पुनःनिर्माणमा जुटेका छन् । यहाँका एक युवाले मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सिसी क्यामेरा पुनःस्थापना गरिदिनुभएको छ । स्थानीय युवा उद्योगी आनन्द खड्काले निजी खर्चमा यस्तो कार्य गर्नुभएको हो । प्लाइउड उद्योगी खड्काले रु तीन लाख ५० हजार खर्चेर ट्राफिक कार्यालय पुनःनिर्माण र चारवटा सिसी क्यामेरा जडान गरिदिएको बताउनुभयो । “मुलुक विषम अवस्थाबाट गुज्रिरहेको बेला राज्यलाई सहयोग पुर्याउनु हरेक नागरिकको कर्तव्य हो भनेर मैले स्वस्फूर्त सहयोग गरेको हुँ,” उहाँले भन्नुभयो, “देशमा नयाँ परिस्थिति आएको छ । सरकारी सम्पत्ति, प्रशासनिक भवन र प्रहरी कार्यालय ध्वस्त भएका छन् ।
यो बेला शान्तिसुरक्षाका लागि मुख्य चोकमा सिसी क्यामेरा आवश्यक हुन्छ भनेर मैले सबै व्यवस्था गरिदिएको हुँ ।” यसैगरी आन्दोलनका क्रममा आगजनी गरिएको मेचीनगर–१५ स्थित ज्यामिरगढी प्रहरी चौकी र मेचीनगर–७ स्थित ट्राफिक प्रहरी पोस्टको समेत पुनःनिर्माण गर्ने योजना रहेको खड्काले बताउनुभयो । कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित ट्राफिक प्रहरी पोस्ट पनि स्थानीय टेकबहादुर बस्नेतलगायतका युवाले निजी खर्चमा पुनःनिर्माण गरिदिएका छन् ।
“आन्दोलनका कारण प्रहरी पोस्ट ध्वस्त भयो, त्यसपछि प्रहरी यहाँबाट विस्थापित हुनुपरेकामा ज्यादै दुःख लागेको छ”, उहाँले भन्नुभयो, “हिजोका दिनमा जे भयो भयो, त्यसलाई बिर्सेर प्रहरीहरू फेरि लक्ष्मीपुरको पोस्टमा बस्न आइदिनुहोस् भन्ने हाम्रो विनम्र अनुरोध छ । ध्वस्त भएको पोस्टलाई हामी युवाले नै मिलेर पहिलेको जस्तै बनाएका छौँ ।” यहाँका अन्य क्षेत्रमा पनि युवाहरूले शान्तिसुरक्षाका लागि प्रहरीसँग मिलेर काम गर्ने जनाएका छन् ।