
कैलाली । दानुफाटा नमुना सामुदायिक वन क्षेत्रबाट तस्करीको अवैध काठ बरामद गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका-३ बुटकौवा र दानुफाँटा आसपासका क्षेत्रबाट तस्करीले चोरीपैठारी गरेको अवैध काठ फेला परेको हो ।
दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहका वन कर्मचारी तथा हेरालुले घर आँगनमा लुकाइछिपाई राखेको सालको ७ गोलिया बरामद गरेका हुन् ।
सबडिभिजन वन कार्यालय बर्दगोरियाका वन रक्षक रामसिंह धामीका अनुसार ४०.२१ क्युफिट अवैध काठ बरामद गरिको हो । बरामद गरिएको उक्त काठ बुधबार वन कर्मचारी र जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाएर कार्यालय परिसर ल्याइएको छ । सामुदायिक वन उपभोक्ता समूहले काठ तस्करीमा संलग्न अनिल बन्तोला, सुन्दर नेपाली, सागर चौधरी पक्राउ गरि वनको विधान बमोजिम कारबाही गरेको जनाएको छ ।
वनका अध्यक्ष टेकराज जोशीले सामुदायिक वनले लामो समयदेखि कटान आदेश नपाएको र उपभोक्तालाई आवश्यक भएमा छिमेकी सामुदायिक वनसँग सहकार्य गरेर पनि काठ उपलब्ध गराउन सकिने बताए । अवैध काठ तस्करी गर्ने जोसुकैलाई कानुन अनुसार कारबाही हुने बताउँदै उनले सामुदायिक वन सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।