
दमौली (तनहुँ), तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा प्रजनन् योग्य पाठापाठी वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा २९ जिल्लामा प्रजनन् योग्य पाठापाठी वितरण गरेको हो । कार्यालयले १९१ पाठापाठी वितरण गरेको वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार १४८ बोका र ४३ पाठी वितरण गरिएको छ । शुद्ध बोर, शुद्ध सानन, जमुनापानी, शुद्ध खरी, शुद्ध सिन्हाललगायत विभिन्न प्रजातिका पाठापाठी वितरण गरेको आचार्यले बताउनुभयो । उहाँका अनुसार शुद्ध बोर ५० वटा धादिङ, गोरखा, तनहुँ, दोलखा, सल्यान, लमजुङ, रसुवा, कास्की, बैतडी, सुर्खेत, स्याङ्जा, नुवाकोट, सिन्धुली, रोल्पा, धनुषा, अर्घाखाँची र बारामा वितरण गरिएको छ ।
बोर ९८.४४ प्रतिशत एउटा गोरखामा, बोर ९६.८७ प्रतिशत १० वटा पर्वत, धादिङ, कास्की, नुवाकोट, गोरखा, सिन्धुली र धनुषामा वितरण गरिएको छ । बोर ९३.७५ प्रतिशत १८ वटा गोरखा, धादिङ, कपिलवस्तु, काठमाडौँ, स्याङ्जा, दोलखा, धनुषा, तनहुँ र बारामा वितरण गरिएको आचार्यले बताउनुभयो । यसैगरी बोर ८७.७५ प्रतिशत ३१ गोरखा, धादिङ, काठमाडौँ, स्याङ्जा, तनहुँ, बारा, सल्यान, नुवाकोट, नवलपरासी (बसपु) र लमजुङमा वितरण गरिएको छ । बोर ७५ प्रतिशत २० वटा धादिङ, सिराहा, काठमाडौँ, कास्की, गोरखा, तनहुँ, नवलपरासी (बसपु), लमजुङ, सिन्धुली र बारामा वितरण गरिएको जनाइएको छ । बोर ५० प्रतिशत २० वटा काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र गोरखामा, सानन ९६.८७ प्रतिशत छ वटा धनकुटा, सुर्खेत, बैतडी, ताप्लेजुङ, नुवाकोट र गुल्मीमा वितरण गरिएको छ ।
सानन ९३.७५ प्रतिशत एउटा पर्वतमा, सानन ८७.५ प्रतिशत एउटा गुल्मीमा, सानन ७५ प्रतिशत छ काठमाडौँ, कास्की, रसुवा र बैतडीमा, सानन ५० प्रतिशत रसुवामा, जमुनापारी ५० प्रतिशत एउटा नवलपुरमा, शुद्ध खरी २० वटा नवलपुर, सुर्खेत, मकवानपुर, तनहुँ र गोरखामा र शुद्ध सिन्हाल एउटा काठमाडाँैमा वितरण गरिएको जनाइएको छ । कार्यालयले बाख्राको अनुसन्धानका लागि विभिन्न जिल्लामा स्रोतकेन्द्र स्थापना गरिएको छ । तनहुँको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।
केन्द्रमा बाख्राहरुलाई चरिचरणको घाँसमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ । कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायोलगायतका घाँस खुवाउने गरिएको छ ।