
झापा, गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान सवारी साधन सहयोग प्रदान गरिएकोे छ । कमल गाउँपालिकाले प्र १–०२–००१ झ ०७३० नम्बरको चार पाङ्ग्रे सवारी साधन दिएको छ भने दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर दिएको छ । दमक खानेपानी तथा उपभोक्ता समितिले ‘पिकअप भ्यान’ दिएको छ । गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको थियो । आगजनीमा कार्यालको तीन तले भवन र सबै सवारी साधन जलेर नष्ट भएको थियो ।
कमल गाउँपालिकाले यसअघि प्रहरी चौकीलाई दिँदै आएको ‘पिकअप भ्यान’ इलाका प्रहरी कार्यालयलाई दिएको हो । दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर इप्रकालाई दिएको नगरप्रमुख राम थापाले बताउनुभयो । नगरको शान्ति सुब्यवस्था मिलाउन प्रहरीलाई साधन श्रोतको अभाव भएकाले सवारी साधन जुटाइएको उहाँको भनाइ छ । ध्रुवतारा स्पोर्टिङ क्लव दमकसमेतले इप्रकाको पुनःनिर्माणका लागि रु एक लाख ५१ हजार सहयोगको घोषणा गरेको छ । इप्रकाको पुनःनिर्माणका लागि समुदायबाट जुट्ने सहयोगलाई व्यवस्थित गर्न नगरप्रमुख राम थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा दमकको नगर उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटीलगायतको सहभागिता रहेको छ । कठिन परिस्थितिमा पनि प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम तिम्सिनाले बताउनुभयो । आगजनीका कारण मुख्य कार्यालयबाट विस्थापित प्रहरीहरु सब्जी बजारको खाली भवनलगायत बाहिरका विभिन्न संरचनामा आश्रय लिएर सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो । समुदायबाट प्रहरी कार्यालयलाई ल्यापटप, फर्निचर, टेबल, कुर्सी, बिजुलीका पङ्खालगायतका सामान सहयोगस्वरुप जुटिरहेको छ । नगरप्रमुख थापाले भन्नुभयो, “नगरबासी सङ्घ संस्था र दाताबाट सहयोग जुटाएर प्रहरीलाई आफ्नै भवनमा छिटोभन्दा छिटो सार्ने र शान्ति सुरक्षाको बन्दोबस्त चुस्त बनाउने प्रयासमा छौँ।”