
पर्वत, महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म लैजान सहज होस् भनेर व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले नियुक्त गरेका श्रमिक लगाएर पदमार्ग निर्माण गरिएको वडा नंं ६ का अध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिनुभयो ।
अध्यक्ष विकका अनुसार खानी तथा भूगर्भ विभागबाट भूगर्भविद् सन्तोष घिमिरेको टोलीले आउने तयारी गरेको छ । यहाँ रहेका मुख्य खानी रनेमने, बूढीखानी र धाउखानीसम्म जाने बाटो सम्पन्न भएको हो । यसैवर्ष पदमार्ग निर्माण गरिएको विकले जानकारी दिनुभयो । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएकोे फलामखानी उत्खनन् हुने आशा स्थानीयले मारेका छैनन् । बन्द भएको ७५ वर्ष लामो अवधिसम्म पनि राज्यका कुनै पनि निकायले फलामखानी सञ्चालनका लागि सरकारले चासो यस क्षेत्रका नागरिकमा उत्साह जागेको छ । विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभागको टोलीले खानीको उत्खनन् गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन अनुसन्धान मात्रै गरेर फर्किएको थियो । भूगर्भविद्ले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रसस्त फलाम रहेको प्रमाण भेटिएको थियो ।
कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको थियो । फलामखानीमा दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ । स्थानीयले पटकपटक फलामखानीको उत्खननको माग गर्दा कतैबाट तदारुकता नदेखाएपछि निरास बनेका छन् । धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच विसं २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो । उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको वडाध्यक्ष विकले बताउनुभयो । उक्त फलामखानी सदरमुकाम कुश्मा बजारबाट ३५ किलोमिटरको दूरीमा रहेको छ । महाशिलाको वडा नं ५ लुङ्खुदेउराली र वडा नं ६ फलामखानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्भेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयले माग गर्दै आएका छन् ।