कैलाली । पछिल्लो समय लागू पदार्थ दुर्व्यसनीको सङ्ख्या निरन्तर बढिरहेको छ । तराइमा सबैभन्दा धेरै कैलालीमा यसको कारोबारी र सेवनकर्ता बढिरहेको प्रहरीले जनाएको छ।
दुर्व्यसनीका कारण समाजमा विभिन्न अपराधीक क्रियाकलाप पनि भइरहेका छन् । कानुनी रूपमा वञ्चित रहेको लागू पदार्थको बेचबिखन तथा सेवनलाई अन्त्य गर्न सामाजिक जनचेतनाको आवश्यकता पैदा भएको छ । यही अवस्थालाई मध्यनजर गर्दै कैलालीमा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको छ ।
सोमबार कैलालीको घोडाघोडी नगरपालिका १ स्थित हेलिप्याड क्षेत्रमा उडान फिल्म प्रोडक्सनको आयोजनामा गर्न लागिएको विविध सांस्कृतिक कार्यक्रमको प्रवेश निःशुल्क गरिएको छ ।
कार्यक्रममा सुरवीर पण्डित , टेक बिसी, शोभा थापा सौगात ओझा, निर्मला भण्डारी, कृष्ण जोशी, विक्रम चौधरी, दीपेन्द्र ओली लगायत कालाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।
सुरवीर पण्डितसहितका कलाकारहरूले लागूपदार्थ दुर्व्यसनी विरुद्ध सडक नाटक प्रस्तुत गर्ने छन् । कलाकारहरूले आफ्नो प्रस्तुतिमा पनि मनोरञ्जनसँगै दुर्व्यसनी विरुद्ध सन्देश फैलाउने छन् ।
‘लागूपदार्थ दुर्व्यसनीकै कारण समाजमा अराजकता र अपराध मौलाइरहेको छ ।सांस्कृतिक कार्यक्रम र सडक नाटकमार्फत दुर्व्यसनी विरुद्ध सन्देश दिने उद्देश्य रहेको छ ’ कार्यक्रम संयोजक दीपेन्द्र ओलीले भने, ‘हाम्रो कार्यक्रम हेरेपछि प्रत्येक अभिभावकहरू तथा स्वयम लागू औषध सेवन गरिरहेकाहरूमा पनि चेतना आउने अपेक्षा गरेका छौँ । ’
स्थानीय सरोकारवाला व्यक्ति तथा निकायहरूले पनि यस्ता कार्यक्रमहरूको माध्यमबाट समाजमा जनचेतना फैलाउन सकिने र कानुन कार्यान्वयनसँगै जनचेतनाको माध्यमबाट लागूपदार्थ दुर्व्यसनी अन्त्य गर्न सकिने बताएका छन् ।






























































































































































