मन्थली (रामेछाप), भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् । तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो । मौसम प्रतिकुल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरुले धान काटेको मन्थली –७ का किसान सरिता ढुङ्गेलले राससलाई बताउनुभयो ।
धान झार्नका लागि आफूहरुले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिइ बाँधेको मुठा र नबाधेको धान भिजेको पनि उहाँले बताउनुभयो । जिल्लाको मन्थली, खिम्ती, कुनाउरी र माडिफाँट, भटौली फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशामा परिणत भएको छ । यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा वृद्धि हुने अनुमान गरिएको थियो ।
गत वर्ष असोजमा आएको बाढीले धानखेतीमा नराम्रो असर गरेपछि धान उत्पादन निक्कै घटेको र यसवर्ष पनि काटेको धान भित्र्याउन वर्षाका कारण नपाइएकाले धानको उत्पादन घट्ने अवस्था भएकोप्रति मन्थली नगरपालिका वडा नं–६ का किसान विमला ढुङ्गेलले चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)
–––






























































































































































