काठमाडौँ, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज नेपाल प्रहरी प्रदेश कार्यालय कास्कीको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोलपम्पको उद्घाटन गर्नुभएको छ । उहाँले प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट भर्चुअल माध्यममार्फत उक्त पेट्रोलपम्पको उद्घाटन गर्नुभएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले समाजमा शान्ति, सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गरीरहेको उल्लेख गर्दै नयाँ पूर्वाधारबाट गुणस्तरीय इन्धन उपलब्ध गराउन र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरी शान्ति, सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य सङ्गठनका रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाइराख्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो ।कुल रु नौ करोड ९४ लाख ७४ हजार ६७६ को लागतमा उक्त पेट्रोलपम्प तथा पूर्वाधारहरूको निर्माणकार्य सम्पन्न भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)































































































































































